ओपनएआईका सुरक्षा विज्ञले दिए राजीनामा

१८ असोज, २०८३, आइतवार
सारांश
  • च्याटजिपिटी निर्माण गर्ने कम्पनी ओपनएआईका सुरक्षा विज्ञ डेभिड रोबिन्सनले राजीनामा दिएका छन् ।

काठमाडौं : च्याटजिपिटी निर्माण गर्ने कम्पनी ओपनएआईका सुरक्षा विज्ञ डेभिड रोबिन्सनले राजीनामा दिएका छन् । 

 

उनले ठूला प्रविधि कम्पनीहरू नयाँ कृत्रिम बुद्धिमत्ता विकास गर्ने होडमा अत्यधिक छिटो अघि बढिरहेको र त्यस क्रममा यसबाट उत्पन्न हुन सक्ने गम्भीर जोखिमलाई बेवास्ता गरिरहेको चेतावनी दिएका छन् ।

 

अमेरिकाको द एटलान्टिक पत्रिकामा लेख प्रकाशित गर्दै रोबिन्सनले कृत्रिम बुद्धिमत्तालाई सामान्य विद्युतीय कार्यक्रमजस्तो नभई आणविक ऊर्जा केन्द्रजस्तै कडा सुरक्षा व्यवस्थासहित सञ्चालन गर्नुपर्ने बताएका छन् । आणविक ऊर्जा केन्द्रमा एउटा गल्तीले ठूलो क्षति हुन सक्ने भएकाले हरेक काम निकै सावधानीपूर्वक गरिएझैं कृत्रिम बुद्धिमत्ताको विकास र प्रयोगमा पनि सुरुदेखि नै उच्चतम सुरक्षा सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।

 

रोबिन्सनका अनुसार ओपनएआईले अहिलेसम्म गल्ती गर्दै त्यसबाट सिक्ने शैलीमा काम गर्दै आएको छ । सामान्य विद्युतीय कार्यक्रमका लागि यस्तो विधि उपयोगी हुन सक्ने भए पनि कृत्रिम बुद्धिमत्ता अहिले निकै शक्तिशाली भइसकेकाले यसको परीक्षणका क्रममा हुने गल्तीको परिणाम निकै ठूलो हुन सक्ने उनले बताए ।

 

 परीक्षणकै क्रममा केही पटक कम्पनीको कृत्रिम बुद्धिमत्ता नियन्त्रणबाहिर गएको र त्यसलाई तत्काल रोक्न नसकिएको अनुभवसमेत उनले उल्लेख गरेका छन् । उनले अहिले कृत्रिम बुद्धिमत्ता कम्पनीहरूसँग यसलाई पूर्ण रूपमा सुरक्षित बनाउने निश्चित उपायसमेत नभएको दाबी गरेका छन् ।

 

 कम्पनीबाहिर रहेका अनुसन्धानकर्ता र विज्ञहरूसँग भने सम्भावित समाधानबारे महत्वपूर्ण अनुसन्धान रहेको उनको भनाइ छ । ओपनएआईमा काम गर्ने कर्मचारीहरू दक्ष र मेहनती भए पनि कम्पनीको मुख्य ध्यान सुरक्षा भन्दा नयाँ सुविधा छिटो सार्वजनिक गर्ने प्रतिस्पर्धातर्फ गएको उनले आरोप लगाएका छन् ।

 

पछिल्ला साताहरूमा ओपनएआईसहित विभिन्न ठूला कृत्रिम बुद्धिमत्ता कम्पनीका कर्मचारी तथा अनुसन्धानकर्ताले यस प्रविधिबाट भविष्यमा गम्भीर जोखिम उत्पन्न हुन सक्ने चेतावनी दिँदै आएका छन् । कृत्रिम बुद्धिमत्ताका प्रमुख वैज्ञानिकमध्येका नोबेल पुरस्कार विजेता जेफ्री हिन्टनले समेत समयमै नियन्त्रण गर्न नसके यस प्रविधिले मानव अस्तित्वमै खतरा निम्त्याउन सक्ने चेतावनी दिँदै आएका छन्  ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार