ऊर्जा विकासको नयाँ सम्भावना: नेपालमा हरित हाइड्रोजनको उत्पादन

२०८२ श्रावण १० शनिवार
सारांश
  • नेपालमा ग्रिन हाइड्रोजनको सम्भावना उपयोग गर्न, निर्देशन, नियम तथा कार्यविधि जस्ता सहायक कानुनी ढाँचाको विकास आवश्यक छ । जसले अन्तरसंस्थागत समन्वय र नयाँ प्रविधिसँग सम्बन्धित कानुनी र प्राविधिक चुनौतीहरू समाधान गर्न मद्दत गर्छ ।

काठमाडौँमा अवस्थित दक्षिण एसिया व्यापार, अर्थशास्त्र र वातावरण अनुगमन संस्था (SAWTEE), थिङ्क ट्याङ्कले २०२५ जुलाईमा “Green Hydrogen in Nepal: Unlocking a Sustainable Energy Future” नामक प्रतिवेदन प्रकाशित गरेको छ । जसका सहलेखक पूर्व अर्थ-सचिव मधु मरासिनी र शोधकर्ता प्रजोल जोशी हुन् । 


प्रतिवेदनमा मुल विषय 
जलवायु परिवर्तनका प्रमुख कारकहरू मध्ये जीवाश्म इन्धन मा उर्जा आवश्यकताका लागि विश्वव्यापी निर्भरता हो । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी निकाय (UNFCCC) का अनुसार, जीवाश्म इन्धनले विश्वभरका हरितगृह ग्याँस उत्सर्जनको ७५ प्रतिशत र कार्बन डाइअक्साइड (CO₂) उत्सर्जनको करिब ९० प्रतिशत हिस्सा ओगटेको छ । 


यस तथ्यलाई दृष्टिगत गर्दै, सफा र नवीकरणीय ऊर्जा आवश्यक छ । ग्रिन हाइड्रोजन भनेको नवीकरणीय ऊर्जाबाट सञ्चालित हुने परियोजना हो । इलेक्ट्रोलाइसिसको माध्यमबाट उत्पादन हुने यो ग्रिन हाइड्रोजन, विश्वभरका देशहरूको लागि नेट–शून्य अर्थतन्त्रतर्फको रूपान्तरणमा एक महत्वपूर्ण कोषेढुंगाको रूपमा देखा परेको छ । ग्रिन हाइड्रोजन इलेक्ट्रोलाइसिसको माध्यमबाट उत्पादन गर्दा, यसमा पानीका अणुहरू (H₂O) लाई हाइड्रोजन र अक्सिजनमा विभाजित गरिन्छ । यसका लागि जल, पवन वा सौर्यजस्ता नवीकरणीय स्रोतबाट उत्पादित विद्युत प्रयोग गरिन्छ । यो विधिबाट कुनै हरितगृह ग्याँस उत्सर्जन हुँदैन, जसले यसलाई सबैभन्दा दिगो हाइड्रोजन उत्पादन विधि बनाउँछ ।


यस प्रतिवदेनमा भनिएको छ कि जलस्रोतमा धनी नेपाल नवीकरणीय ऊर्जाको एक महत्वपूर्ण स्रोत हो । जसले गर्दा नेपालले सक्षम रूपमा ग्रिन हाइड्रोजनलाई एक रूपान्तरणकारी ऊर्जा विकल्पको रूपमा उपयोग गर्न सक्ने सम्भावना राख्दछ ।  कोइला, प्राकृतिक ग्याँस वा विद्युत जस्ता प्राथमिक ऊर्जाका स्रोतहरूको विपरीत, यो हाइड्रोजन ऊर्जा वाहकको रूपमा कार्य गर्छ । यसले ऊर्जा संचित, स्थानान्तरण र आपूर्ति गर्न सक्छ । यो स्वच्छ र लचिलो ऊर्जा प्रणाली हो । यदि उपयुक्त रूपमा उत्पादन गरिएमा, हाइड्रोजनले न्यून वा शून्य उत्सर्जन स्रोतको रूपमा कार्य गर्न सक्छ र ऊर्जा उपयोगको विभिन्न क्षेत्रमा डी–कार्बनाइजेसनमा महत्वपूर्ण योगदान दिन सक्छ ।

 

हाल नेपालमा उत्पादित वा योजनामा रहेको अधिकांश जलविद्युत उत्पादन रन–अफ–द–रिभर अर्थात् नदी प्रवाहमा आधारित आयोजना मार्फत हुन्छ ।  जसले सुख्खा मौसममा आफ्नो क्षमताको तुलनामा अत्यन्त कम उत्पादन गर्छ । पछिल्ला तीन आर्थिक वर्षहरूमा, कुल विद्युत उत्पादनमध्ये ७० प्रतिशतभन्दा बढी वर्षायाममा र मात्र ३० प्रतिशत सुख्खा  याममा उत्पादन भएको देखिन्छ ।


नेपालमा ग्रिन हाइड्रोजन नीति
प्रतिवेदनले जनाए अनुसार नेपाल सरकारले ग्रिन हाइड्रोजन प्रवद्र्धनका लागि कानुनी आधार विकास गर्ने औपचारिक प्रक्रिया २०२१ डिसेम्बरमा सुरु गरेको थियो र २०२५ जनवरीमा ग्रिन हाइड्रोजन नीति, २०८० अपनाएको थियो । यस नीतिको उद्देश्य नवीकरणीय स्रोत—जस्तै जलविद्युतबाट उत्पादित विद्युत प्रयोग गरी ग्रिन हाइड्रोजन उत्पादन प्रबर्द्धन गर्नु हो । जसले मुलुकको नेट–शून्य लक्ष्य हासिल गर्न योगदान पुर्याउँछ । यस नीतिले निम्न ६ प्रमुख रणनीतिहरू समेटेको छ । 
१. आवश्यक कानुनी ढाँचा विकास गर्ने ।
२. सम्बन्धित उद्योग स्थापना र लगानी आकर्षणका लागि प्रोत्साहन दिने ।
३. कार्बन व्यापार प्रवद्र्धन गर्ने ।
४. आवश्यक पूर्वाधार निर्माण गर्ने ।
५. ग्रिन हाइड्रोजन प्रयोग गरी रासायनिक मल उत्पादनलाई प्रवद्र्धन गर्ने ।
६. अनुसन्धान तथा विकासमा जोड दिने ।

 

प्रतिवदेनमा उल्लेखित नीति तर्जुमा
नीति कार्यान्वयन पश्चात नेपाल सरकारले विभिन्न नीतिगत प्रयासहरू थालेको छ । आ.व २०८२/८३ को नीति तथा कार्यक्रममा ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादनतर्फ प्रारम्भिक कदम चाल्ने घोषणा गरिएको छ । आ.व २०८२/८३ को बजेटमार्फत ग्रिन हाइड्रोजन उत्पादनका लागि आवश्यक मेसिनरीमा सबै कर छुट दिने तथा यस क्षेत्रमा संलग्न कम्पनीलाई ५ वर्षको आयकर छुट दिने घोषणा गरिएको छ ।

 

नेपालले मे २०२५ मा प्रस्तुत गरेको तेस्रो राष्ट्रिय प्रतिबद्धता (NDC 3.0) मा ग्रिन हाइड्रोजनको उपभोग, उत्पादन, यातायात तथा भण्डारणको सम्भावना खोज्ने नीति समावेश गरिएको छ । जसले सन् २०४५ सम्म नेट–शून्य उत्सर्जनको लक्ष्यमा सहयोग गर्नेछ । 


ऊर्जा विकास रोडम्याप, २०२४ अनुसार सन् २०३५ सम्म २८,५०० मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्यसहित ४६.५ अर्ब अमेरिकी डलर बराबरको लगानी परिचालन गर्ने योजना छ । जुन ग्रिन हाइड्रोजन उत्पादनका लागि अत्यावश्यक हो ।


प्रदेश स्तरमा पनि अग्रसरता देखिएको छ । हालै कोशी प्रदेश सरकार र Green Hydrogen Company Pvt. Ltd. बीच रु २६ अर्ब लागतमा ग्रिन हाइड्रोजनमा आधारित मल कारखाना स्थापनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न समझदारीपत्र (MoU)मा हस्ताक्षर भएको छ । 


२०८०÷८१ मा पेट्रोलियम पदार्थहरूले नेपालका कुल वस्तु आयातको १८.९ प्रतिशत हिस्सा ओगटेको छ । जसले ग्रिन हाइड्रोजन र अन्य नवीकरणीय स्रोतहरूको विकास अपरिहार्य बनाउँछ । 


प्रतिवदेनमा उल्लेखित चुनौती 
प्रतिवेदनमा उल्लेख भएका चुनौतीहरुको चर्चा गर्दा, प्रबल सम्भावना हुँदाहुँदै पनि, नेपालले ग्रिन हाइड्रोजन अर्थतन्त्र विकास गर्न ठूला चुनौतीहरूको सामना गरिरहेको छ । सबैभन्दा ठूलो चुनौती भनेको उत्पादन लागत हो, जुन नवीकरणीय विद्युत र इलेक्ट्रोलाइसिस प्रविधिको लागतमा निर्भर हुन्छ । हालको अनुमान अनुसार, ग्रिन हाइड्रोजन उत्पादन लागत प्रतिकिलो ३ युरो देखि ७ युरो सम्म पर्छ । 

 

काठमाडौं विश्वविद्यालयको ग्रिन हाइड्रोजन प्रयोगशालामा गरिएको परीक्षणमा, १० लिटर पानी र ४५ युनिट विद्युत प्रयोग गरी १ किलोग्राम हाइड्रोजन उत्पादन गरिएको थियो । जसको लागत करिब US$5 (नेपाली ६५० रुपैयाँ) परेको थियो । यसले १०० किलोमिटर गाडी कुदाउन सक्ने ऊर्जा दिएको थियो । तुलनात्मक रूपमा, पेट्रोल इन्धन प्रयोग गर्ने गाडीले १०० किमीको लागि करिब रु १,४०० खर्च गर्छ । विद्युत गाडीले रु १०६ मात्र खर्च गर्छ । 


प्रतिवदेनमा उल्लेख भए अनुसार संस्थागत तथा सुरक्षा चुनौतीहरूको बारे चर्चा गर्दा, काठमाडौं विश्वविद्यालयको प्रयोगशालाले सफलतापूर्वक ग्रिन हाइड्रोजन उत्पादन गरी गाडीमा प्रयोग गरेको छ । जुन उत्साहजनक प्रारम्भ हो । 

 

यद्यपि, ग्रिन हाइड्रोजन नीति, २०८० ले कानुनी आधार त दिएको छ, तर व्यवहारिक कार्यान्वयनका लागि स्पष्ट निर्देशन दिएको छैन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत समिति गठन गरिएको भए पनि पूर्ण रूपमा क्रियाशील संस्थागत संरचना अझै निर्माण हुन बाँकी छ । त्यसैले ग्रिन हाइड्रोजन विकास बोर्ड वा कुनै योग्य निकायलाई अधिकार दिने आवश्यक छ । जसले समन्वय, नियमन र लगानी प्रवद्र्धनमा भूमिका निर्वाह गर्न सक्नु पर्छ । 


साथै, हालै एक पोखराको कार्यक्रममा हाइड्रोजनले भरिएको बलुनमा आगलागी भई अर्थमन्त्री समेत दुर्घटना परेको घट्नाले सुरक्षा चिन्ताको विषय बनेको छ । सन् १९३७ को हिन्डेनबर्ग दुर्घटना अझै पनि हाइड्रोजनको जोखिमपूर्ण प्रकृतिको स्मरण गराउँछ ।


नेपालमा ग्रिन हाइड्रोजन भण्डारण र यातायातका लागि आवश्यक आधुनिक पूर्वाधारको अभाव छ । त्यसैले यसको व्यापक उपयोगका लागि ठूलो लगानी आवश्यक देखिन्छ । 


आगामी मार्ग 
प्रतिवेदनमा उल्लेख भए अनुसार नेपालमा ग्रिन हाइड्रोजनको सम्भावना उपयोग गर्न, निर्देशन, नियम तथा कार्यविधि जस्ता सहायक कानुनी ढाँचाको विकास आवश्यक छ । जसले अन्तरसंस्थागत समन्वय र नयाँ प्रविधिसँग सम्बन्धित कानुनी र प्राविधिक चुनौतीहरू समाधान गर्न मद्दत गर्छ । 


उच्च प्रारम्भिक लगानी, उत्पादन, भण्डारण र यातायात लागतहरू प्रमुख चुनौती हुन् । त्यसैले, आर्थिक तथा गैर–आर्थिक प्रोत्साहन दिई सरोकारवालाहरूलाई सहयोग गर्नुपर्छ । 


प्रतिवेदनमा Climate Investment Fund /Green Climate Fund जस्ता अन्तर्राष्ट्रिय वातावरणीय वित्त स्रोतमा पहुँच प्राप्त गर्नु अत्यावश्यक छ भनेर भनिएको छ । यस्ता स्रोतमा पहुँचका लागि प्राविधिक तथा प्रशासनिक सक्षमता आवश्यक भए तापनि, दीर्घकालीन लाभ उल्लेखनीय छन् । नेपालले ग्रिन अमोनिया र अन्य सम्बन्धित उत्पादहरू क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने बलियो सम्भावना राख्दछ । जसले आर्थिक अवसरहरू विस्तार गर्न सक्छ । सरकारले वार्षिक बजेटबाट बीउ पुँजी विनियोजन गरी विशेष कोष स्थापना गर्न सक्छ । जसले विकास साझेदार, गैर–सरकारी संस्था तथा निजी क्षेत्रको योगदानबाट थप सुदृढ बनाउनेछ । 


अन्त्यमा, 
तसर्थ, माथि उल्लेखित विवरणहरु SAWTEE को प्रतिवेदनमा आधारित छन् । हरेक विषयहरुको आफ्नै लाभ तथा हानी भएकाले निरन्तर बहस तथा पैरवी जरुरी हुन्छ । यसमा मिडियाको भूमिका भनेको सम्बन्धित क्षेत्रका प्राज्ञिक, व्यापारी, सरोकारवाला पक्ष, विश्लेषक आदिलाई तर्कमुलुक बहसका लागि प्लेटफर्म प्रदान गर्ने हो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार