अफगानिस्तानमा मानवीय संकट गहिरिँदै, शक्ति राष्ट्रहरू विभाजित

२०८२ मङ्सिर २६ शुक्रवार
सारांश
  • यता भारतले भने केवल 'दण्डात्मक उपाय' ले समस्या समाधान नहुने भन्दै तालिबानसँग 'व्यवहारिक सहकार्य' गर्नुपर्ने तर्क अघि सार्‍यो ।

काठमाडौँ, २७ मंसिर: संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा मानवीय संकट भयावह बन्दै गएको चेतावनी दिएको छ । राष्ट्रसंघीय सुरक्षा परिषद् (UNSC) मा हालै सम्पन्न ब्रिफिङका क्रममा सन् २०२६ सम्ममा अफगानिस्तानका २ करोड २० लाख (२२ मिलियन) मानिसलाई मानवीय सहयोग आवश्यक पर्ने तथ्यांक सार्वजनिक गरिएको छ ।

 

१० डिसेम्बरमा आयोजित सुरक्षा परिषद्को बैठकमा राष्ट्रसंघका उपमहासचिव तथा आपतकालीन राहत समन्वयकर्ता टम फ्लेचरले अफगानिस्तानको अवस्था सुडान र यमनपछि विश्वकै तेस्रो ठूलो मानवीय संकटको रूपमा देखा परेको बताए । उनले भने, "महिलामाथि लगाइएका प्रतिबन्ध, आर्थिक दुरावस्था, लामो द्वन्द्व र प्राकृतिक विपत्तिका कारण अवस्था गम्भीर बनेको छ ।"

 

सहयोगमा भारी कटौती
फ्लेचरले १ करोड ७५ लाख मानिसलाई तत्काल सहयोग पुर्‍याउन १.७ बिलियन डलरको आवश्यकता औंल्याएका छन् । तर, गम्भीर आर्थिक अभावका कारण यो योजना कटौती गर्दै केवल ३९ लाख मानिसमा सीमित गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको राष्ट्रसंघले जनाएको छ ।

 

शक्ति राष्ट्रहरूबीच आरोप–प्रत्यारोप
अफगानिस्तानको संकट समाधानका उपायबारे सुरक्षा परिषद्का सदस्य राष्ट्रहरू भने विभाजित देखिएका छन् । बैठकमा अमेरिकाले तालिबानमाथि कडा आलोचना गर्दा चीन, रुस र भारतले व्यवहारिक बाटो अपनाउनुपर्नेमा जोड दिए ।

 

अमेरिकाले तालिबानले अन्तर्राष्ट्रिय सहयोगको दुरुपयोग गरेको र जनताको आवश्यकता बेवास्ता गरेको आरोप लगाएको छ । "यदि तालिबानले राष्ट्रसंघीय मिसन (युनामा) को काममा अवरोध पुर्‍याएमा सुरक्षा परिषद्ले मिसनको पुनर्संरचनाबारे सोच्नुपर्नेछ," अमेरिकी प्रतिनिधिले चेतावनी दिए । बेलायतले पनि प्रतिबन्धात्मक आदेश फिर्ता लिन तालिबानलाई दबाब दिइरहेको जनाएको छ ।

 

यता भारतले भने केवल 'दण्डात्मक उपाय' ले समस्या समाधान नहुने भन्दै तालिबानसँग 'व्यवहारिक सहकार्य' गर्नुपर्ने तर्क अघि सार्‍यो । चीन र रुसले पनि अफगानिस्तानको संकट समाधानका लागि अन्तर्राष्ट्रिय समुदाय र अफगान प्रशासनबीच संयुक्त प्रयास र गैर–राजनीतिक दृष्टिकोणको आवश्यकता औंल्याए ।

 

शरणार्थीको भार थाम्न नसक्ने छिमेकीको चेतावनी
बैठकमा अफगानिस्तानका छिमेकी मुलुकहरू पाकिस्तान र इरानले शरणार्थी समस्याबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् । पाकिस्तानले आफ्नो भूमिमा अफगान शरणार्थीको व्यवस्थापन र आतङ्कवादी समूहको सक्रियताबारे कुरा उठाउँदै शरणार्थी फिर्ती 'सम्मानजनक' हुनुपर्ने बतायो । उता इरानले ६० लाखभन्दा बढी अफगान शरणार्थीलाई अब एक्लै धान्न नसकिने स्पष्ट पारेको छ ।

 

तालिबानको जवाफ : पश्चिमा व्याख्या मान्न बाध्य छैनौँ
अन्तर्राष्ट्रिय समुदायको आलोचनाको जवाफ दिँदै इस्लामिक इमिरात अफ अफगानिस्तान (तालिबान) का प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगानिस्तानमा 'शारिया कानुन' अनुसार अधिकार सुनिश्चित गरिएको दाबी गरे ।

 

प्रवक्ता मुजाहिदले भने, "हामी हाम्रा जनतालाई अल्लाहको आदेश अनुसार अधिकार दिन जिम्मेवार छौँ । विभिन्न समाज र देश अनुसार फरक हुने मानवअधिकारका व्याख्या अपनाउन अफगानहरू बाध्य छैनन् ।"

 

सुरक्षा परिषद्को यो बैठकले अफगानिस्तानको संकट अब केवल मानवीय मात्र नरही भू–राजनीतिक जालोमा फसेको स्पष्ट संकेत गरेको छ । शक्ति राष्ट्रहरूको एकमत नहुँदा त्यहाँको संकट तत्काल समाधान हुने सम्भावना क्षीण देखिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार