चुच्चे नक्सा देखि पोखरा विमानस्थल प्रकरण: नेपालले एकैचोटि दुई शक्ति चिढ्यायो

२०८२ पुष ०७ सोमवार
सारांश
  • केही समय मौन बसेर, कूटनीतिक रूपमा उपयुक्त क्षणमा मात्रै यस्तो नोट सार्वजनिक गर्नु उपयुक्त हुन्थ्यो ।

कूटनीतिमा समय, अवस्था र शरीरको भाषाको ठूलो अर्थ हुन्छ । शासकले कति बेला कुन अस्त्र प्रयोग गर्ने भन्ने ज्ञान अवश्य हुनुपर्छ । किनभने शासकले लिएको कदमको असर व्यक्तिगत हुँदैन; त्यसको परिणाम सम्पूर्ण जनताले व्यहोर्नुपर्छ ।

 

चुच्चे नक्सा अंकित नोट
यही सन्दर्भमा हेर्दा, नेपालले २७ नोभेम्बर २०२५ मा पूर्ववर्ती सरकारको पालामा टेन्डर भएर छापिएको चुच्चे नक्सा अंकित १०० रुपैयाँको नोट अहिले बजारमा ल्याएको छ । यो नोट चीनको सरकारी कम्पनी सीबीपीएमसी टेन्डर जितेर छापेको हो । यही कारण भारतले “नेपालले चीनको सहयोगमा आफ्नो भू–भाग अंकित नक्सा भएको नोट राखेको हो” भन्ने भाष्य प्रस्तुत गरिरहेको छ, जबकि नेपालले “यो हाम्रो आफ्नै भूमि हो” भनेर आफ्नो अडान दोहो¥याइरहेको छ ।

 

विवादित भू–भागलाई लिएर एक–अर्काले आफ्नो हो भन्ने दाबी गर्नु स्वाभाविक नै हो । तर अहिलेको यथार्थ के हो भने, जेन–जी आन्दोलनपछि नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ । यस्तो संवेदनशील समयमा राष्ट्रिय हित भनेको तुरुन्त प्रतिक्रिया जनाउनु होइन । केही समय मौन बसेर, कूटनीतिक रूपमा उपयुक्त क्षणमा मात्रै यस्तो नोट सार्वजनिक गर्नु उपयुक्त हुन्थ्यो । किनभने कूटनीतिमा कहिले के कदम चाल्ने भन्ने हेक्का नहुनु नै नेपालको सबैभन्दा ठूलो कमजोरी बनेको छ ।

 

चीनसँग पनि टकराव
अर्को गम्भीर र अपरिपक्व निर्णय भनेको ७ डिसेम्बर २०२५ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार प्रकरणमा ५५ जनामध्ये चीनको सरकारी इन्जिनियरिङ कम्पनी सीएमसी विरुद्ध पनि अख्तियारले भ्रष्टाचारको अभियोगसहित मुद्दा दायर गर्नु हो । यस्तो तरल राजनीतिक अवस्थामै नेपाल कहिले भारतलाई घोचेझैँ, कहिले चीनलाई घोचेझैँ व्यवहार गरिरहेको देखिन्छ ।

 

यो भ्रष्टाचारको अभियोग अख्तियारले दायर गरेलगत्तै, १७ डिसेम्बर २०२५ मा चिनियाँ राजदूत चेन सङले आफ्नो बिदाइ भेटका क्रममा प्रधानमन्त्री सुशिला कार्कीसँग असन्तुष्टि प्रकट गरे । विभिन्न सञ्चारमाध्यममा आएको समाचार अनुसार, राजदूत सङले चीनको सरकारी निकायलाई समेटेर अभियोग दायर हुनुमा कुनै बाह्य शक्तिको भूमिका हुनसक्ने आशङ्का समेत व्यक्त गरेका छन् । साथै, उनले प्रधानमन्त्री कार्कीलाई चीनविरोधी गतिविधि, तिब्बतीहरूको चीनविरोधी क्रियाकलाप तथा उत्तरका हिमाली जिल्लामा हुने गतिविधि माथि निगरानी बढाउन सुझाव दिएका छन् । यसरी चीनले आफ्नो असन्तुष्टि खुलेरै व्यक्त ग¥यो ।

 

गम्भीर मूल्याङ्कनको अभाव
चीनको सरकारी कम्पनीलाई नेपालमै भ्रष्टाचार गरेको आरोप लगाउँदा त्यसको कूटनीतिक परिणाम के हुन सक्छ भन्ने गम्भीर मूल्याङ्कन नेपालले गरेको देखिँदैन ।  यदि चीनले संस्थागत रूपमा कडा प्रतिक्रिया दियो भने, हाम्रो राज्य संयन्त्रसँग त्यसलाई व्यवस्थापन गर्ने क्षमता छ कि छैन भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ । त्यो पनि अहिलेको अस्थिर राजनीतिक अवस्थामा यो विषय गम्भीर रूपमा सोचनीय छ ।

 

अन्त्यमा,
भारत र चीन दुवैलाई एकैपटक घोचेर, शक्ति राष्ट्रहरूको रेडारमा परेर, नेपाल किन आफैँ अनावश्यक संकटतर्फ धकेलिँदै छ ? यदि दुवै देशले आ–आफ्नो शैलीमा प्रतिक्रिया जनाए भने, के हाम्रो प्रणालीले त्यसलाई थेग्न सक्छ त ?

 

यही प्रकारको हतारो, प्रतीकात्मक उत्तेजना र रणनीतिक अस्पष्टतालाई कुटनीति भनिन्छ त भन्ने गम्भीर प्रश्न आज नेपालको सामु उभिएको छ । अझ स्पष्ट रूपमा भन्नुपर्दा, यदि नेपालले चीन र भारत दुवैलाई गैर–मौसमी बाजा बजाएर असहज बनाउने हो भने, अन्ततः हामी कहाँ गएर अडेस लगाउने ? '

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार