चार वर्षमा तीन युद्ध लडेको इजरायलमा फेरि आमनिर्वाचन, नेतान्याहुको सत्ता दाउमा
८ कार्तिक, २०८३
- सन् २०२२ पछि पहिलोपटक हुन लागेको यस निर्वाचनमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु फेरि सत्तामा फर्किने प्रयासमा छन् ।
काठमाण्डौ, ०८ कार्त्तिक । इजरायलमा आगामी अक्टोबर २७ मा नयाँ संसद र प्रधानमन्त्री चयनका लागि आमनिर्वाचन हुने भएको छ ।
सन् २०२२ पछि पहिलोपटक हुन लागेको यस निर्वाचनमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु फेरि सत्तामा फर्किने प्रयासमा छन् । उनलाई गादी आइजेन्कोट नेतृत्वको विपक्षी दलले चुनौती दिने बताइएको छ ।
इजरायलको निर्वाचन प्रणालीअनुसार मतदाताले प्रधानमन्त्रीका उम्मेदवारलाई प्रत्यक्ष मतदान गर्दैनन्, बरु राजनीतिक दललाई मत दिन्छन् । संसदमा कुल १२० सदस्य हुन्छन् र सरकार गठन गर्न कम्तीमा ६१ सिट आवश्यक पर्छ। कुनै एउटा दलले मात्रै बहुमत ल्याउन कठिन हुने भएकाले सरकार गठनमा गठबन्धनको भूमिका निर्णायक हुन्छ ।
सन् २०२२ नोभेम्बर १ मा अघिल्लो निर्वाचन भएपछि गठन भएको सरकारले चार वर्षको कार्यकाल पूरा गर्न लागेको छ । उपलब्ध विवरणअनुसार, पछिल्लो ३८ वर्षमा पहिलोपटक इजरायली संसदले आफ्नो कार्यकाल पूरा गरेको हो । तर यस अवधिमा इजरायलले गाजा क्षेत्रमा हमासविरुद्ध युद्ध, लेबनानमा हिजबुल्लाहविरुद्ध सैन्य कारबाही र इरानमाथि दुईपटक आक्रमण गरेको छ। सिरियामा पनि इजरायलले लामो सैन्य अभियान चलाएको छ ।
इजरायलमा यसपटक करिब ७३ लाख ३१ हजार मतदाता रहेको विवरण छ । संसदमा प्रतिनिधित्व पाउन राजनीतिक दलले कम्तीमा ३.२५ प्रतिशत मत प्राप्त गर्नुपर्छ । त्यसैले साना दलले प्राप्त गर्ने मतले पनि सरकार गठनको समीकरणमा ठूलो प्रभाव पार्न सक्छ । दक्षिणपन्थी दलहरू नेतान्याहुको पक्षमा देखिएका छन् भने वामपन्थी दलहरू विपक्षी गठबन्धनको समर्थनमा छन् ।
नेतान्याहु इजरायलको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेता हुन् । यस निर्वाचनमा उनको नेतृत्वको लिकुड पार्टीले साना दललाई साथमा लिएर बहुमत जुटाउने प्रयास गर्नेछ । अर्कोतर्फ, विपक्षी दलहरू पनि गठबन्धन बनाएर सरकार गठन गर्ने रणनीतिमा छन् । सर्वेक्षणहरूले कुनै पनि गठबन्धनले स्पष्ट बहुमत पाउने अवस्था नदेखाएको विवरणमा उल्लेख छ ।
निर्वाचनको परिणाम नोभेम्बर ४ सम्म सार्वजनिक गर्ने तयारी छ । कुनै दलले बहुमत प्राप्त नगरेमा राष्ट्रपतिले सरकार गठन गर्न सक्ने सम्भावना भएको दलका नेतालाई आमन्त्रण गर्नेछन् । सरकार गठनका लागि सम्बन्धित नेतालाई २८ दिनको समय दिइनेछ, आवश्यक परे थप १४ दिन समय उपलब्ध गराउन सकिनेछ । कुनै पनि दलले सरकार गठन गर्न नसकेमा संसद् विघटन गरी ९० दिनभित्र अर्को निर्वाचन गराउने प्रक्रिया सुरु हुन सक्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।