एन्थ्रोपिकले आईपीओ ल्याउँदै, कम्पनीको मूल्याङ्कन २ ट्रिलियन डलर पुग्ने अनुमान
१० कार्तिक, २०८३
- एन्थ्रोपिकले आफ्नो ‘क्लास ए’ साधारण सेयरलाई नास्ड्याक ग्लोबल सिलेक्ट मार्केटमा ‘एएनटी’ सङ्केतअन्तर्गत सूचीकृत गर्न चाहेको छ ।
काठमाण्डौ, १० कार्त्तिक । कृत्रिम बुद्धिमत्तासम्बन्धी अमेरिकी कम्पनी एन्थ्रोपिकले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी गरेको छ । कम्पनीले अमेरिकाको धितोपत्र तथा विनिमय आयोग (एसईसी) मा दर्ता फाराम बुझाएको छ । एन्थ्रोपिकले आफ्नो ‘क्लास ए’ साधारण सेयरलाई नास्ड्याक ग्लोबल सिलेक्ट मार्केटमा ‘एएनटी’ सङ्केतअन्तर्गत सूचीकृत गर्न चाहेको छ ।
कम्पनीले आईपीओमा कति सेयर बिक्री गर्ने र प्रतिकित्ता मूल्य कति निर्धारण गर्ने भन्ने खुलाएको छैन । निष्कासनमा कम्पनीले नयाँ सेयर जारी गर्नुका साथै विद्यमान सेयरधनीले पनि आफ्नो स्वामित्वका केही सेयर बिक्री गर्नेछन् । तर, विद्यमान सेयरधनीले बिक्री गरेको सेयरबाट प्राप्त रकममा कम्पनीको अधिकार हुने छैन ।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको पहिलो छ महिनामा १६ अर्ब ३० करोड अमेरिकी डलर आम्दानी गरेको छ । तर, सोही अवधिमा कम्पनीले ८० अर्ब ७० करोड अमेरिकी डलर खुद घाटा बेहोरेको विवरणमा उल्लेख छ । कम्पनीले भविष्यमा नाफा कमाउन वा नाफालाई निरन्तरता दिन नसक्ने जोखिमसमेत औँल्याएको छ । कृत्रिम बुद्धिमत्ताको पूर्वाधार निर्माण र व्यवसाय विस्तारमा ठूलो लगानी गर्नुपर्ने भएकाले वित्तीय जोखिम बढ्न सक्ने कम्पनीको भनाइ छ ।
एन्थ्रोपिकले सन् २०३३ सम्म गुगलसँग करिब ११४ अर्ब ५० करोड अमेरिकी डलर खर्च गर्ने प्रतिबद्धता रहेको पनि जनाएको छ । कम्पनीका अनुसार पछिल्लो १२ महिनाको अवधिमा १० लाख अमेरिकी डलरभन्दा बढी आम्दानी दिने ग्राहकको सङ्ख्या एक हजार नौ सयभन्दा बढी पुगेको छ । रिपोर्टअनुसार आईपीओपछि कम्पनीको मूल्याङ्कन दुई ट्रिलियन अमेरिकी डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ । यद्यपि, कम्पनीले आफ्नो आधिकारिक मूल्याङ्कन सार्वजनिक गरेको छैन ।
यस आईपीओमा गोल्डम्यान स्याक्स र मोर्गन स्ट्यान्लीले प्रमुख व्यवस्थापकको भूमिका निर्वाह गर्नेछन् । एन्थ्रोपिकको सेयर निष्कासनले अत्याधुनिक कृत्रिम बुद्धिमत्ता प्रणाली विकासमा लाग्ने उच्च लागत र यस क्षेत्रको भविष्यको सम्भावनालाई लगानीकर्ताले कसरी मूल्याङ्कन गर्छन् भन्ने परीक्षण गर्नेछ । कम्पनीले आफ्नो दर्ता विवरणमा अत्याधुनिक कृत्रिम बुद्धिमत्ताबाट उत्पन्न हुन सक्ने विनाशकारी जोखिम र मानव अस्तित्वमै पर्न सक्ने खतराबारे पनि चेतावनी दिएको छ । अमेरिकी बजारमा सार्वजनिक निष्कासन गर्न चाहने कम्पनीले व्यवसाय, वित्तीय अवस्था र सम्भावित जोखिमको विवरणसहित एसईसीमा बुझाउने दर्ता फारामलाई ‘फर्म एस–१’ भनिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच भेटवार्ता, उच्च शिक्षामा सहकार्य विस्तारबारे छलफल
-
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
-
अनलाइन ट्रोल र दुर्व्यबहारविरुद्ध रश्मिका र विजयको उजुरी
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ७९ करोडको कारोबार
-
सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।