नेइमारको चिन्तामा ब्राजिल, कहिले खेल्न सक्छन् ?

३० जेठ, २०८३, शनिवार
सारांश
  • समर्थकहरूले उद्घाटन खेलअघि नेइमार फिट हुने अपेक्षा गरेका थिए । तर मोरक्कोविरुद्धको खेलअघिको पत्रकार सम्मेलनमा आन्सेलोटीले त्यस सम्भावनालाई समाप्त पार्दै उनी खेल्न तयार नरहेको स्पष्ट पारे ।

काठमाडौँ: ब्राजिलका स्टार फरवार्ड नेइमार चोटका कारण मोरक्कोविरुद्धको विश्वकपको पहिलो खेलमा मैदान उत्रन नसक्ने भएका छन् ।

 

मुख्य प्रशिक्षक कार्लो आन्सेलोटीले नेइमार अझै पूर्ण रूपमा फिट नभएको पुष्टि गर्दै उनी टोलीसँग प्रशिक्षणमा फर्किन केही समय लाग्ने बताएका हुन् ।

 

ब्राजिलले विश्वकप अभियानको सुरुआती खेल भोली बिहान ३.४५ बजेदेखि मोरक्कोसँग गर्दैछ। तर टोलीका सर्वाधिक गोलकर्ता नेइमार चोटका कारण उपलब्ध नहुने भएका हुन् । सान्तोसका खेलाडी नेइमार प्रतियोगिताअघि सुरु भएको राष्ट्रिय टोलीको प्रशिक्षण शिविरदेखि नै टोलीबाहिर छन् ।

 

समर्थकहरूले उद्घाटन खेलअघि नेइमार फिट हुने अपेक्षा गरेका थिए । तर मोरक्कोविरुद्धको खेलअघिको पत्रकार सम्मेलनमा आन्सेलोटीले त्यस सम्भावनालाई समाप्त पार्दै उनी खेल्न तयार नरहेको स्पष्ट पारे ।

 

ब्राजिलले अब समूह चरणको सबैभन्दा कठिन चुनौतीमध्ये एक मानिएको मोरक्कोविरुद्धको खेल आफ्ना अनुभवी खेलाडीबिनै खेल्नुपर्ने भएको छ । चिकित्सकहरूले नेइमारको चोटलाई दोस्रो तहको पिण्डुला मांसपेशीको समस्या भएको बताएका छन् । त्यसैले उनी हाल व्यक्तिगत पुनर्स्थापना कार्यक्रमअन्तर्गत उपचार गरिरहेका छन् ।

 

आन्सेलोटीले नेइमारको अवस्थाबारे जानकारी दिँदै भने- 'नेइमार सकेसम्म छिटो निको हुन निकै मेहनत गरिरहेका छन् । अर्को साता उनी टोलीको सामूहिक प्रशिक्षणमा फर्किन सक्ने अपेक्षा गरेका छौँ ।' उनले थपे- 'हामीले नेइमारलाई केवल उनको उत्कृष्ट खेल क्षमताका कारण मात्र टोलीमा समावेश गरेका होइनौँ । युवा खेलाडीहरूका लागि उनको अनुभव र नेतृत्व पनि उत्तिकै महत्वपूर्ण छ ।'

 

यद्यपि ब्राजिलले नेयमारको पुनरागमनबारे आशावादी दृष्टिकोण राखे पनि उनको अनुपस्थिति मोरक्कोविरुद्धको खेलमा मात्र सीमित नहुन सक्ने चिन्ता बढिरहेको छ । प्रारम्भिक चिकित्सकीय मूल्याङ्कनअनुसार उनलाई पूर्ण रूपमा निको हुन दुईदेखि तीन सातासम्म लाग्न सक्ने बताइएको थियो । यसले उनलाई जुन २० मा हुने हैटीविरुद्धको दोस्रो समूह चरणको खेलसम्म फर्कने सम्भावना दिएको छ ।

 

तर लामो समय मैदानबाहिर रहँदा खेल लयमा फर्किने विषय ब्राजिलका प्रशिक्षक र चिकित्सा टोलीका लागि मुख्य चिन्ताको विषय बनेको छ । नेइमारले मे १७ यता कुनै प्रतिस्पर्धात्मक खेल खेलेका छैनन् । साथै उनको विगतमा पटक–पटक चोट दोहोरिने इतिहास भएकाले टोली व्यवस्थापन हतारमा मैदानमा फर्काउने पक्षमा छैन ।

 

यस कारण समूह चरणमा नेइमारको भूमिका अझै अनिश्चित बनेको छ। ब्राजिलले प्रतियोगिताको सुरुआती चरण आफ्ना सबैभन्दा अनुभवी खेलाडीमध्ये एकबिनै पार गर्नुपर्ने अवस्था आएको छ भने चिकित्सा टोलीले उनको स्वास्थ्य अवस्थामाथि निरन्तर निगरानी गरिरहेको छ।

 

ब्राजिलको प्राथमिकता प्रतियोगिताको पछिल्लो चरणका लागि नेइमारलाई पूर्ण रूपमा फिट बनाउने रहेको देखिन्छ । उनी हैटीविरुद्धको खेलमै फर्किनेछन् वा त्यसपछि मात्र मैदानमा उत्रनेछन् भन्ने विषय अहिले ब्राजिलका लागि सबैभन्दा ठूलो प्रश्न बनेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार