अमेरिकासँग सम्भावित सम्झौता बारे इरानभित्रका कट्टरपन्थी समूह असन्तुष्ट

३० जेठ, २०८३, शनिवार
सारांश
  • इरानका विभिन्न शहरमा शुक्रबारको नमाज पढाउने धर्मगुरुहरूले समेत अमेरिकासँग हुने कुनै पनि सम्झौताप्रति चेतावनी दिएका छन्। उनीहरूले सर्वोच्च नेता मुज्तबा खामेनेईको स्वीकृतिबिना कुनै सम्झौता स्वीकार नगर्ने बताएका छन् ।

काठमाडौँ: अमेरिकासँग सम्भावित सम्झौता गर्ने विषयलाई लिएर इरानभित्रका कट्टरपन्थी समूहहरू असन्तुष्ट बनेका छन् ।

 

इस्लामिक रिभोलुसनरी गार्डसँग निकट मानिने फार्स समाचार संस्थाले इरानी विदेशमन्त्री अब्बास अराघचीको आलोचना गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइको स्पष्ट प्रतिवाद नगरेको आरोप लगाएको छ ।

 

ट्रम्पले इरानी सञ्चारमाध्यममा सार्वजनिक भएका सम्झौताका सर्तहरू गलत रहेको र ती वास्तविक दस्तावेजसँग सम्बन्धित नभएको बताएका थिए । फार्सका अनुसार अराघचीले उक्त दाबीलाई प्रत्यक्ष रूपमा खण्डन नगरी सञ्चारमाध्यमलाई अनुमानका आधारमा समाचार नबनाउन आग्रह मात्र गरेका थिए । यसले सार्वजनिक भएका केही विवरण गलत हुन सक्ने सन्देश गएको भन्दै कट्टरपन्थी समूहहरू थप असन्तुष्ट बनेका छन् ।

 

कट्टरपन्थी सांसद महमुद नबावियानले पनि प्रस्तावित मस्यौदाको आलोचना गरेका छन् । उनका अनुसार हालको मस्यौदा अघिल्ला दुई प्रस्तावभन्दा बढी हानिकारक छ र यसमा इरानले धेरै रियायत दिएको छ । उनले सन् २०१५ को आणविक सम्झौताजस्तै यो सम्झौता पनि इरानका लागि घाटाको सम्झौता बन्न सक्ने दाबी गरेका छन् ।

 

इरानका विभिन्न शहरमा शुक्रबारको नमाज पढाउने धर्मगुरुहरूले समेत अमेरिकासँग हुने कुनै पनि सम्झौताप्रति चेतावनी दिएका छन्। उनीहरूले सर्वोच्च नेता मुज्तबा खामेनेईको स्वीकृतिबिना कुनै सम्झौता स्वीकार नगर्ने बताएका छन् ।

 

यता सम्झौताका सर्तबारे अमेरिका र इरानका दाबी एकअर्कासँग मेल खाएका छैनन् । इरानी सञ्चारमाध्यमका अनुसार प्रस्तावित मस्यौदामा तेलमाथिका प्रतिबन्धमा राहत, रोक्का गरिएका कोषहरू फुकुवा गर्ने, समुद्री नाकाबन्दी हटाउने तथा भविष्यका वार्तालाई आणविक कार्यक्रम र प्रतिबन्धका विषयमा मात्र सीमित गर्ने व्यवस्था समावेश छ ।

 

तर अमेरिकी अधिकारीहरूले भने कुनै पनि सम्झौताअन्तर्गत इरानले आफ्नो आणविक कार्यक्रम अन्त्य गर्नुपर्ने, उच्च स्तरमा संवर्धन गरिएको युरेनियम नष्ट गर्न वा देशबाहिर पठाउनुपर्ने तथा लामो समयसम्म अन्तर्राष्ट्रिय निगरानी स्वीकार गर्नुपर्ने बताएका छन् ।

 

अमेरिकाको भनाइअनुसार इरानले आफ्ना सबै प्रतिबद्धता पूरा नगरेसम्म उसलाई कुनै आर्थिक राहत प्रदान गरिने छैन । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि सम्झौतामा हस्ताक्षर गर्नु वा वार्तामा सहभागी हुनु मात्रका आधारमा इरानले कुनै आर्थिक लाभ नपाउने स्पष्ट पारेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार